संविधान दिवसका नाममा धनकुटामा एमालेको जनप्रदर्शन
धनकुटा । भदौं २३ र २४ गते राजधानीसहित देशभर जेन जीका नाममा भएको आन्दोलनले थिलथिलो भएको नेकपा एमालेले संविधान रक्षाका लागि भन्दै धनकुटामा जनप्रदर्शन गरेको छ ।
लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवसको अवसर पारेर जिल्ला कमिटीले आज धनकुटामा जनप्रदर्शन गरेको हो । ‘संविधानको रक्षा गरौँ, प्रतिगमन हुनबाट जोगाऔं, लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ, प्राप्त उपलब्धिहरूको संरक्षण गरौँ’ लगायतका नारा लगाउँदै जनप्रर्दशन गरेको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिका गतिविधिले गणतन्त्र धरापमा पर्ने सम्भावना बढेको भन्दै त्यसको विरोधमा जनप्रर्दशन गरिएको एमाले धनकुटाले जनाएको छ । धनकुटा ७ मदन चोकबाट निकालिएको शान्तिपूर्ण र्याली परिचय मोड, भिमषेन थान, भिमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे, बिहीबारे हटिया, टुँडिखेल हुँदै पुनः मदन चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्र राईले नेपालीहरुको लामो प्रयास र बलिदानीले ल्याएको संविधान रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले जसरी हिजो लोकतन्त्र र गणतन्त्रका लागि लड्यौ, त्यसरी नै संविधान रक्षाका लागि लड्नुपर्ने बताउनु भयो ।
उहाँले जेनजीको शान्तिपूर्ण आन्दोलनमा आफूहरूको पनि साथ भएको तर बीचमा घुसपैठ हुँदा अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो । उहाँले आन्दोलनका नाममा सरकारी कार्यालयमा आगजनी र तोडफोड हुँदा ठूलो क्षति भएको बताउनुभयो ।
उनले आन्दोलनमा घुसपैठ गर्ने जो–कोहीलाई पनि तत्कालै अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइनुपर्ने उल्लेख गरे । जनप्रदर्शनमा एमालेबाट निर्वाचित जनप्रतिनिधि, एमाले धनकुटाका नेता तथा कार्यकर्ताहरू सहभागि थिए ।
नेकपा एमालेका जिल्ला सचिव पर्शुराम नेपालले सञ्चालन गर्नुभएको सो कोणसभा जिल्ला अध्यक्ष शिव आङ्ला लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस