पाखो बारीमा धान खेती : न पानी चाहिने, न खेत नै चाहिने

खोलानालाबाट कुलोबाट सिँचाईका लागि पानी ल्याउन धाउनु पनि पर्दैन

गोपाल बराइली
१२ कार्तिक २०८२, बुधबार

धनकुटा । वर्षे धान रोप्ने बेला सधैं किसानलाई सिँचाइका लागि पानी नुहँदा सास्ती । भनेको बेला पानी नपर्दा खोलानालाहरु पनि सुकेर सिँचाई गर्न पानी पुग्दै नपुग्ने । यो समस्या धनकुटाका आम किसानले वर्षाैदेखि भोग्दै आएका छन् । तर, धनकुटाका किसान सिंचाइ सुविधा नभएको पाखो, सुक्खा र भिरालो जमिनमा समेत उत्पादन गर्न सकिने धान खेतीतर्फ आकर्षित भएका छन् ।

जलवायु परिवर्तनका कारण धान रोप्ने समयमा कहिले पानी नपर्ने । भएका खोला नालाहरु पनि धानको बिउ रोप्ने सुकेर कमिला कुद्ने हुन्छन् । यो समस्या धनकुटाका आम किसानहरुको हो । तर पछिल्लो समय समय धनकुटाको बेलहरा र छथरजोरपाटी गाउँपालिकाका किसानले धानको विउ रोप्न आकासको पानी कुर्नुपर्दैन । खोलानालाबाट कुलोबाट सिँचाईका लागि पानी ल्याउन धाउनु पनि पर्दैन ।

धनकुटा नगरपालिका वडा नं. ९ बेलहराका किसान वेदप्रसाद रोइलाले पाखाबारीमा यो सालदेखि धानको विउ रोप्नुभएको थियो । अहिले उहाँको पाखो बारीमा सधैं सिँचाई हुने खेतमा जस्तै मज्जाले धान फलेको छ । कोदो रोपे जसरी नै पाखो बारीमा धानको बिउ रोपिन्छ । तर, फल भने पर्याप्त सिँचाई गरिएका खेतमा झैँ धान फल्छ ।

केही नफल्ने पाखो बारीमा धानको बाला फलेको देख्दा उहाँ अहिले निक्कै खुसी व्यक्त गर्नुहुन्छ । ‘खासै समस्या नहुँदो रहेछ । सिँचाई गरेर रोपेको खेलमा र पाखो बारीमा लगाइएको धान बराबरी नै फलेको छ । मैले त केही फरक देखिनँ’ उहाँले भन्नुभयो, ‘वडा कार्यालयको ५० प्रतिशत अनुदानबाट यो साल धान रोपेको हुँ । तर मैले अरु ठाउँमा पनि गएर हेर्दा धेरै राम्रो फलेको देखेँ ।’

सुख्खाग्रस्त क्षेत्रलाई केन्द्रित गर्दै धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकाले ५० प्रतिशत अनुदानका हाइब्रेड बिउ वितरण गरेको छ । यसले पाखो बारी भएका किसानलाई निक्कै फाइदा पु¥याएको धनकुटा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष टंक रोइला बताउनु हुन्छ ।
‘पहिले पाखो बारीमा केही उत्पादन नहुँदा यहाँका किसान धेरै चिन्तित थिए । एक भारी परालका लागि पनि समस्या थियो’ उहाँले धनकुटा एफएमसँग भन्नुभयो, ‘अहिले यहाँका किसानले परालका लागि झापा, मोरङ र सुनसरी धाउनुपर्दैन । यो हाम्रो जस्तो सिचाई नहुने वडाका लागि खुसीको कुरा पनि हो ।’

पाखाबारीमा लगाइने हाइब्रेड जातका धानखेतीका लागि नियमित रुपमा सिँचाई गरिहरनु पर्दैन । सुख्खा याममा पनि धान फल्ने भएकाले किसानका लागि विकल्प हुनसक्ने कृषी ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाको भनाई छ ।

जिल्लामा करिब ४ हजार ९ सय ३८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । पछिल्लो समयमा सुख्खा क्षेत्रमा पनि उत्पादन हुने भएकाले किसानलाई पाखो बारीमा उत्पादन हुने धान खेती उपयुक्त हुने भनेर केन्द्रले सल्लाह दिने गरेका उहाँको भनाई छ ।

सिँचाइको पानी नलाग्ने र धान खेती असम्भव ठानिएका स्थानमा समेत राम्रो उत्पादन हुन थालेपछि यसतर्फ किसानको चासो बढ्दै गएको छ । हाल धनकुटा नगरपालिका –९ र छथरजोरपाटी गाउँपालिकामा यसरी धान खेती हुँदै आएको छ । सिँचाइको आवश्यकता नपर्ने र धान खेती असम्भव ठानिएका स्थानमा समेत राम्रो उत्पादन हुन थालेपछि यसतर्फ किसानको चासो बढ्न थालेको छ । तर उन्नत जातको धान खेती गर्दा रैथाने जातको धान भने लोप हुने खतरा देखिन्छ ।