एकीकृत समाजवादी धनकुटा भन्छ, पार्टी एमालेमा समाहित भयो भन्ने भ्रम मात्रै
धनकुटा । विगठित नेकपा एकीकृत समाजवादी धनकुटा नेकपा एमालेमा समाहित भएको भनी प्रचार प्रसार भएकोमा एकीकृत–समाजवादी धनकुटाले आपत्ति जनाएको छ ।
शुक्रबार विगठित नेकपा एकीकृत समाजवादी धनकुटाको नाममा अध्यक्ष अर्जुन राई सहितले एमाले धनकुटामा समाहित भएको पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए । तर आज जिल्ला उपसचिवसहित पालिका कमिटीका इन्चार्ज तथा अध्यक्षहरुले सिंगो पार्टी एमालेमा समाहित भएको भन्ने हल्ला मात्र भएको बताएका छन् ।
आज सो पार्टीका उपसचिव गोपाल बराइली, जिल्ला सचिवालय सदस्य तथा सहिदभुमी गाउँपालिका इन्चार्ज योगेन्द्र राई, सहिदभुमी पालिका कमिटी अध्यक्ष बाबुराम राई, पाख्रिबास इन्चार्ज तथा सचिवालय सदस्य बेदबहादुर बस्नेत, छथरजोरपाटी इन्चार्ज तथा सचिवालय सदस्य शारदा प्रसाद दाहाल, महालक्ष्मी नगर अध्यक्ष तथा सचिवालय सदस्य लालबहादुर महतरा, जिल्ला कमिटी सचिवालय सदस्य गोपाल राई लगायले विज्ञप्ती जारी गर्दै केही व्यक्तिहरुले पार्टीको वैधानिक संरचना, निर्णय र प्रक्रियाविना बैठक तथा संगठन विस्तारको नाममा गतिविधि सञ्चालन गर्दै आएको र अन्य पार्टीमा समाहित भयो भनेर कार्यकर्तामा भ्रम छर्ने काम भएको आरोप लगाएका छन् ।
साथै उनीहरुले वाम एकताका लागि भएको प्रयासलाई सकारात्मक भन्दै एकताको पक्षमा लाग्न अपिल समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस