दोस्रो अन्तर पालिकास्तरीय पुुरुष भलिबल प्रतियोगिताको उपाधी हतुवागढी भोजपुरलाई

नरेन्द्र कस्चित
२६ मंसिर २०८२, शुक्रवार

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. २ को ढोलमुखामा दोस्रो अन्तर पालिकास्तरीय पुुरुष भलिबल प्रतियोगितामा हतुवागढी गाउँपालिका भोजपुर विजयी भएको छ ।

आज भएको फाइनल खेलमा विजयी बनेसँगै नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेको हो ।

धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं.२ छिन्ता ढोलमुखा टोलमा भएको आमचोक गाउँपालिका भोजपुर र हतुवागढी गाउँपालिका भोजपुर बीच भएको फाइनल खेलमा हतुवागढी गाउँपालिका भोजपुरले सोझो सेटमा जीत हासिल गर्दै विजेता बनेको हो । आमचोक गाउँपालिका भोजपुरले भने उप-विजेतामा चित्त बुझाउदै नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ ।

आज भएको फाइनल खेलका म्यान अफ दि म्याच हतुवागढी गाउँपालिकाका प्रदिप कट्टेल घोषित भए भने उनले नगद २ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेता र उप-विजेता टिमलाई समापन समारोहमा सहिदभूमि गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष खगेन्द्र राई, खाल्साथुम छिन्ता युवा क्लबका निवर्तमान अध्यक्ष अनिश राई, संस्थापक अध्यक्ष वसन्त राई, क्लबका सल्लाहकार राज कुमार राई लगायतले पुरस्कार बितरण गर्नुभएको स्थानीय सञ्चारकर्मी नरेन्द्र कश्चित राईले जानकारी दिनुभयो ।