आवश्यक स्रोत–साधन नहुँदा अपेक्षित रूपमा काम गर्न कठिनाइ भएको पत्रकारहरुको गुनासो
पत्रकारहरुका समस्या समाधानमा सधैं क्रियाशील रहने कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीको प्रतिवद्धता
धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीसमक्ष धनकुटाका पत्रकारहरुले भौतिक पूर्वाधारको अभाव, सञ्चार माध्यमहरुको संस्थागत सुदृढीकरण तथा पत्रकारहरुको क्षमता विकासका लागि आवश्यक स्रोत–साधन नहुँदा अपेक्षित रूपमा काम गर्न कठिनाइ भइरहेको अवगत गराएका छन् ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीको सम्मानमा नेपाल पत्रकार महासंघ धनकुटाले आयोजना गरेको कार्यक्रममा धनकुटाका पत्रकारहरुले नेपाल पत्रकार महासंघ धनकुटाको संस्थागत विकासका लागि भौतिक पूर्वाधारको अभाव, सञ्चार माध्यमहरुको संस्थागत सुदृढीकरण लगायतका विषयमा अवगत गराएका हुन् ।
उनीहरुले डिपिआरसमेत बनिसकेकाले नेपाल पत्रकार महासंघ धनकुटाको भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने, धनकुटा जिल्लामा सञ्चालित सञ्चार माध्यमहरुलाई संस्थागत रुपमा सबल बनाउन प्रदेश सरकारको तर्फबाट आवश्यक बजेट विनियोजन गर्नुपर्ने, सञ्चार सम्बद्ध कानुनहरु निर्माण गरि सञ्चार माध्यमहरुलाई समानुपातीक विज्ञापन प्रणाली लागु गर्नुपर्ने, सम्बन्धित जिल्लाका सरकारी निकाय तथा स्थानीय तहहरुका विज्ञापनहरु सम्बन्धित जिल्लाका सञ्चार माध्यमलाई पहिलो प्राथमिकता दिने गरि कानुन निमार्ण गर्नुपर्ने लगायतका मागहरु पनि अघि सारेका छन् ।
नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले धनकुटाले मन्त्री पाएका बेला पत्रकारहरुको पमस्या समाधान हुन्छ भन्नेमा आफु विश्वास्त रहेको बताउनु भयो ।
सो कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीले कोशी प्रदेशमा पत्रकारहरुको क्षमता विकासका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले यसै चालू आर्थिक वर्षमा कोशी प्रदेशमा सञ्चार विधेयक पारित हुने बताउँदै पत्रकारहरुको समस्या समाधानमा आफु सधैं क्रियाशील रहने प्रतिवद्धता जनाउनु भयो ।
मन्त्री पराजुलीले यसै आउँदो हिउँदे अधिवेसनबाट कोशी प्रदेशको संसदबाट आम सञ्चार विधेयक पारित हुने र विधेयक पारित भएपछि पत्रकारहरुका सबै समस्या समाधान हुने बताउनु भयो । उहाँले लोकतन्त्र स्थापनाका लागि पत्रकारहरुको भुमिका अहम् भएकाले प्रदेश सरकार पत्रकारहरुको क्षमता विकास, सुशाषन र पारदर्शीतामा सधैं ध्यान दिने बताउनु भयो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सन्जय सन्तोषी राई, पूर्व अध्यक्ष नगेन्द्र राई, सल्लाहकार रमेशचन्द्र अधिकारी, विनोद घिमिरे लगायतले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागु गरे स्थानीय सञ्चारमाध्यम बचाउन सकिने र पत्रकारीतालाई व्यवसायीक बनाउन सकिनेमा जोड दिनुभयो ।
सो कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राई, पूर्व समन्वय प्रमुख टंक चौहान, धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल लगायतको उपस्थिती रहेको थियो ।
सो कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरिबहादुर लम्जेलले गर्नुभएको थियो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस