पार्टीहरुले निर्वाचनमा राष्ट्रिय गरिमा झल्काउने सूर्यचन्द्र अंकित झण्डा प्रयोग गर्दा राष्ट्रिय झण्डाको महत्व घट्यो : मुख्मयमन्त्री कार्की

धनकुटा एफ. एम.
१० माघ २०८२, शनिबार

धनकुटा । पछिल्लो समयमा राष्ट्रिय झण्डाको प्रयोग जतातै हुने गरेको छ । सार्वजनिक कार्यक्रम होस् वा कुनै सभा समारोहमा राष्ट्रिय झण्डाको प्रयोग हुने गरेको छ । यतिसम्मकी अहिले चुनावी कार्यक्रमहरुमा समेत राष्ट्रय झण्डा प्रयोग हुने गरेको छ ।

राष्ट्रिय झण्डाको बेग्दै महत्व छ । तर यसको दुरुपयोग भइरहेको भन्दै चिन्ता पनि ब्यक्त हुन थालेको छ । सोही क्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डाको दुरुपयोग गरेर भोट माग्ने गतिविधि गैरकानुनी र आपत्तिजनक भएको टिप्पणी गर्नुभएको छ ।

धनकुटा लेडी जेसिसको सातौँ पद हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले पार्टीहरुले निर्वाचनमा राष्ट्रिय गरिमा झल्काउने सूर्यचन्द्र अंकित झण्डा प्रयोग गर्दा राष्ट्रिय झण्डाको महत्व घटेको दावी गर्नुभयो ।

राष्ट्रिय झण्डाको दुरुपयोगले राष्ट्रिय एकता, लोकतन्त्र र सामाजिक सद्भावमाथि नकारात्मक असर पार्ने र यसको नियन्त्रण आवश्यक रहेको बताउँदै मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री कार्कीले चुनाव प्रचारका क्रममा विभिन्न दलहरूले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दा राष्ट्रिय एकता र प्रतीकको अवमूल्यन हुने बताउनुभयो ।

उहाँले नेपालीको साझा प्रतिकका रुपमा रहेको राष्ट्रिय झण्डा ओडेर भोट माग्ने, व्यक्तिका घर, सार्वजनिक प्रतिष्ठान, सम्पत्तिमा आगजनी गर्ने काम कुनै पनि व्यक्तिलाई क्षमा दिन नहुने बताउनुभयो ।

उहाँले जेन–जी अभियानका क्रममा मारिएकालाई सहिद घोषणा गरिएको भन्दै असन्तुष्टि पोख्नुभयो । जेन–जी प्रदर्शनका क्रममा राष्ट्रिय झण्डा ओढेर उपद्रो गर्दा, चोरी गर्दा ज्यान गुमाएकाहरुलाई सरकारले सहिद घोषणा गरेको भन्दै त्यसको आलोचना गर्नुभयो ।

गत भदौ २३ र २४ मा बालबालिका र नवयुवालाई प्रयोग गरेर अवसरवादी तत्वहरुले बिध्वंश मच्चाएको उहाँको भनाई छ । उहाँले २३ गतेको घटनामा जेनजी भाईबहिनीहरुको संलग्नता नभएको जिकिर गर्नुभयो ।

सो अवसरमा नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष बिदुर थापा, धनकुटा नगरका नगर प्रमुख चिन्तन तामाङ, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष अम्बिका धमला लगायतले शुभकामना दिनुभएको थियो । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सो कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष मुना पोख्रेल र महासचिव तुलषा पौडेलले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष लक्ष्मी परियारले गर्नुभएको थियो ।