सुख्खा पहिरो खस्दा अवरुद्ध भएको रवि–राँके–भेडेटार सडक पुनः सुचारु
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ थुम्कीस्थित निर्माणाधीन रवि–राँके–भेडेटार सडक खण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक पुनः सुचारु भएको छ ।
शनिबार अपराह्न करिब साढे ४ बजे अविरल वर्षापछि सडक माथिबाट पहिरो खस्दा उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । सो क्षेत्रमा अझै पनि पहिरो खस्ने क्रम जारी रहेकाले उक्त सडक खण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।
सडक कटिङ गरिएको स्थान भिरालो भएकाले माथिबाट निरन्तर पहिरो झरी रहँदा सडक पटक–पटक अबरुद्ध हुने गरेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो ।
सडक सुचारु भएसँगै रोकिएका सवारी-साधनहरू गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन् । केही दिन पहिले पनि नाम्जेमा सुख्खा पहिरो खस्दा झण्डै एक साता सडक अवरुद्ध भएको थियो । पहिरोको जोखिम कायमै रहेकाले सचेत भएर आवत जावत गर्न प्रहरीले आग्रह गरेको छ ।
यो सडक धनकुटाको साँगुरीगढी, चौबिसे तथा पाँचथर पश्चिम दक्षिणी क्षेत्रका बासिन्दाको धरानसहित तराई क्षेत्र आबत–जावत गर्ने मुख्य मार्ग हो । सो सडक खण्ड अवरोध हुँदा पर्यटकीय स्थल नाम्जेको व्यापार व्यवसाय ठप्प भएको थियो ।


प्रतिक्रिया दिनुहोस