धनकुटामा निःशुल्क आँखा शिविर सम्पन्न, १५ जनाको गरियो काठमाडौं रेफर
धनकुटा । धनकुटाको शहीद भीमनारायण संग्रहालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान, पाख्रीवास नगरपालिका, नेपाल भारत मैत्री संघ, दुर्गा लक्ष्मी परोपकार संस्था, नेपाल अर्बुद रोग निवारण संस्था तथा लायन्स क्लब अफ बाग्मति क्यान्सर केयरको संयुक्त आयोजनामा आज निःशुल्क शिविर सञ्चालन गरिएको हो ।
आज धनकुटामा भएको शिविरमा १ सय जनाले आँखा जाँच गराएका छन् । सो क्रममा यही २४ र २५ गते पाख्रिबासमा २० जनाको मोतिबिन्दु शल्यक्रिया हुने भएको छ । त्यसैगरी त्यहाँ उपचार गर्नआउनेमध्ये १५ जना जलविन्दु रोग लगायतका रोगीलाई काठमाडौं रिफर गरिएको छ । उनीहरुको काठमाडौंमा पनि निशुःक उपचार हुने लायन्स क्लब अफ बाग्मति क्यान्सर केयर का चार्टर प्रेसिडेन्ट ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी सो शिविरपछि धनकुटामा घरघरमा पुगेर ९० वर्ष भन्दा बृद्धबृद्धालाई घरमै गएर उपचार गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानका तेत्र चिकित्सक आशीष भट्टको नेतृत्वको टोलीले धनकुटानगरपालिका वडा नं. ६ का विभिन्न घरमा पुगेर उपचार गरेको हो ।
बैशाख १८ गते चौविसे गाउँपालिका वडा नं. ६ स्थित पुण्य मा.वि. राजारानीबाट शुरु भएको सो शिविर अन्तर्गत आज धनकुटामा निःशुल्क आँखा शिविर भएको हो । यसअघि सहिदभुमी गाउँपालिकाको आँखिसल्ला स्वास्थ्य चौकी स्वास्थ्य शिविर सम्पन्न भइसकेको छ ।
आज धनकुटामा भएको निशुल्क आँखा शिविरको शहीद पत्नी लक्ष्मीदेबी श्रेष्ठले उदघाटन गनुृभयो । सो कार्यक्रममा दुर्गा लक्ष्मी परोपकार संस्थाकी अध्यक्ष सरस्वती श्रेष्ठ, शिविरका इन्चार्ज तथा नेत्र अधिकृत आशीष भट्ट, लायन्स क्लब अफ बाग्मति क्यान्सर केयरका चार्टर प्रेसिडेन्ट ईश्वर श्रेष्ठ लगायतले धनकुटा जिल्लाका छ वटै पालिकामा यस्ता आँखा जाँच कार्यक्रम विस्तार गर्ने दीर्घकालीन योजना रहेको जानकारी दिनुभयो । उहाँले नियमित आँखा परीक्षणलाई जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिँदै मोतिबिन्दु लगायत दृष्टिसम्बन्धी समस्याबाट बच्न समयमै उपचारमा जान सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रम नेपाल भारतमैत्री संघका अध्यक्ष महेश प्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा समाजसेवी सरोज श्रेष्ठ, मनोज नारायण श्रेष्ठ तथा नेत्रज्योति कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस