एकमहिना नपुग्दै एसइईको नतिजा सार्वजनिक, ६५.९८ विद्यार्थी उत्तीर्ण
नन ग्रेडेडमा १,४६,५०७ गरी जम्मा ४,३०,६६७ विद्यार्थी उत्तीर्ण, एक लाख ४६ हजारको 'एनजी'
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो । चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् ।
एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।
एसईई २०८२ मा जीपीए १.६० देखि २ जीपीए ल्याउने विद्यार्थी ७ जना रहेका छन् । यस्तै, २ देखि २.४० जीपीए ल्याउने ५,१९० जना, जीपीए २.४० देखि २.८० ल्याउने ५५,९७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ९,४२२ जना, जीपीए ३.३० देखि ३.६० ल्याउने ८०,३७२ जना, जीपीए ३.६० देखि ४ जीपीए ल्याउने ४८, ३९२ र नन ग्रेडेडमा १,४६,५०७ गरी जम्मा ४,३०,६६७ विद्यार्थी उत्तीर्ण भएका हुन् ।
यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।


प्रतिक्रिया दिनुहोस