धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारी कोशी प्रदेश सञ्चार प्रतिष्ठान सदस्य नियुक्त
धनकुटा । कोशी प्रदेश सरकारले गठन गरेको प्रदेश सञ्चार प्रतिष्ठानको सदस्यमा धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारी सदस्य नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रतिष्ठानको सदस्यमा लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील धनकुटाका पत्रकार अधिकारीलाई सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो ।
२०४७ देखि भित्ते पत्रिकाबाट पत्रकारिता थाल्नु भएका अधिकारीले २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा गोरखापत्र दैनिकमा समेत केही समय संवाददाताको रुपमा काम गर्नुभएको थियो ।
२०६१ सालदेखि हालसम्म कान्तिपुर दैनिकमा आबद्ध रहनुभएका अधिकारीले कान्तिपुरमा प्रवेश गर्नुअघि राजधानी दैनिकसहित विभिन्न पत्रपत्रिकामा काम गर्नुभएको थियो । उहाँले २०५८ मा झापाको कन्चनजंगा एफएममा समेत काम गर्नुभएको थियो ।
साहित्य क्षेत्रमा समेत उत्तिकै योगदान दिँदै आउनुभएका अधिकारी नेकपा एमाले निकट प्रेस चौतारीको केन्द्रिय सदस्य समेत भइसक्नुभएको छ । उहाँ हाल नेपाल पत्रकार महासंघ धनकुटा शाखाको सल्लाहकारको रुपमा रहनुभएको छ ।
कोशी प्रदेश सरकारले प्रतिष्ठानको अन्य सदस्यमा शान्ति दाहाल (मोरङ), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर), विष्णुप्रसाद पोखरेल (झापा), अर्जुन राजवंशी (झापा) र ध्रुव ढकाल (सुनसरी) लाई पनि नियुक्त गरेको छ । सरकारले मोरङका अग्रज पत्रकार दीपक दाहाललाई प्रतिष्ठानको अध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस