धनकुटाका पसलहरुमा भेटियो अखाद्य वस्तु, डेरीसहित ४ वटा मिठाई पसललाई २० हजार रुपैयाँ जरिवाना
धनकुटा । पछिल्लो समय उपभोक्ताबाट बजारसम्बन्धी गुनासा बढेपछि जिल्ला प्रशासन कार्यालय कार्यालय धनकुटाले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई तीव्र बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा बुधबार गरिएको अनुगमनमा भीमनारायण चोकदेखि मदन चोकसम्म सञ्चालनमा रहेका डेरी र मिठाई पसलहरूको अनुगमन गरेको हो । यसअघि पनि जिल्ला अस्पताल आसपासका केही होटलमा अखाद्य तथा गुणस्तरहीन खाना बिक्री गरेको गुनासोपछि अनुगमन गरी कारबाही गरिएको थियो ।
अनुगमन टोलीले धनकुटाको हुलाक टोल क्षेत्रमा गरिएको छड्के बजार अनुगमनका क्रममा अखाद्य वस्तु तथा मापदण्ड विपरीत खाद्य सामग्री बिक्री–वितरण गरेको पाइएपछि एउटा डेरीसहित चार मिठाई पसललाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । भीमनारायण चोकदेखि मदन चोकसम्म सञ्चालनमा रहेका डेरी तथा मिठाई पसलहरूको अनुगमन गर्दा अधिकांश मिठाई पसलमा पटक–पटक प्रयोग गरिएको तोरीको तेल पुनः प्रयोग गरिएको, तेलको गुणस्तर न्यूनतम मापदण्डभन्दा तल रहेको तथा खाद्य सुरक्षाका मापदण्ड पालना नगरिएको पाइएको थियो ।
त्यसैगरी, एक डेरीमा घ्यूमा उत्पादन तथा उपभोग्य मिति उल्लेख नगरिएको, सरसफाइमा लापरबाही गरिएको र बिल प्रयोग नगरेको पाइएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत रामजी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मापदण्ड उल्लंघन गर्ने चारवटा पसललाई जनही ५ हजार रुपैयाँका दरले २० हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री तथा तयारी खानेकुरा जफत गरी नष्ट गरिएको छ ।
अधिकांश पसलमा मूल्यसूची नराखिएको, सरसफाइको अवस्था कमजोर रहेको, व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको तथा आवश्यकभन्दा बढी र अनधिकृत रासायनिक पदार्थ प्रयोग गरिएको पनि भेटिएको प्रशासनले जनाएको छ । अनुगमन टोलीले सम्बन्धित व्यवसायीलाई आगामी दिनमा अखाद्य वस्तुको बिक्री–वितरण नगर्न कडा चेतावनी दिएको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तथा उद्योग वाणिज्य संघ धनकुटाका प्रतिनिधिहरूको संयुक्त सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस