कांग्रेसका एक हजार ६३ महासमिति र ४२ केन्द्रीय सदस्य हिन्दु राष्ट्रको पक्षमा

धनकुटा एफ. एम.
१२ फागुन २०८०, शुक्रवार

काठमाडौं,११ फागुन । नेपाली कांग्रेसको महासिमिति बैठकमा सहभागी एक हजार ६३ जना सदस्यले संविधानमा रहेको धर्म निरपेक्षता हटाएर हिन्दु राष्ट्र राख्नुपर्ने माग गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका छन्। केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा गठित सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानले संकलन गरेको हस्ताक्षर सभापति देउवालाई बुझाएको हो ।

बिहीबार गोदावरीस्थित महासमिति बैठकको बन्दसत्रमै सभापति देउवालाई हस्ताक्षर बुझाएको जानकारी दिँदै भण्डारीले भन्नुभयो– ‘सबै धर्मलाई सम्मान गर्दै नेपाल हिन्दु राष्ट्र बनाउनुपर्ने आफूहरूको पूरक प्रस्ताव मूल प्रस्तावमा समवेश भएर आउनु पर्छ ।’ कांग्रेसको २०७५ साल सम्पन्न भएको महासमिति बैठकमा पनि हिन्दु राष्ट्र घोषणाको माग गर्दै हस्ताक्षर अभियान चलाइएको थियो । त्यतिबेला ७ सय १७ जना महासमिति सदस्यले हस्ताक्षर गरेका थिए।

सनातन हिन्दु राष्ट्र नेपाल घोषणा अभियानको नाममा हस्ताक्षर संकलन गर्न बैठक स्थलको बाहिर स्टल राखिएको थियो । धर्म निरपेक्ष खारेज गरी हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने महाअभियान समितिका महासचिव एवं केन्द्रीय सदस्य मुक्ता कुमारी यादवले बताउनुभयो । कांग्रेसमा अहिले २ हजार एक सय ३ महासमिति सदस्य कायम रहेका छन्। फागुन ३ र ४ गते सानेपामा बसेको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यले महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको पक्षमा उभिन माग गर्दै पूरक प्रस्ताव ल्याएका थिए।

अहिलेको हस्ताक्षर अभियानमा ४२ केन्द्रीय सदस्य पुगेको अभियान्ताहरूले बताएका छन्। कांग्रेस सभापति देउवाले यस विषयलाई आफूले सकारात्मक रुपमा लिएकोे प्रतिक्रिया दिनुभएको अभियन्ताहरूको भनाइ छ।