धनकुटाको फलामेटारबाट ८ सय ४ किलो गाँजा बरामद, दुई जना पक्राउ

धनकुटा FM
१६ साउन २०८३, शनिबार

धनकुटा । पछिल्लो समयमा धनकुटामा प्रहरीले अवैध लागू औषधको रुपमा रहेको गाँजा बरामद अभियानलाई तीव्र बनाएको छ । सोही क्रममा धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटारस्थित जनता आवासका लागि निर्माण गरिएको खाली घरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शनिबार दिउँसो उक्त खाली घरमा अवैध रूपमा गाँजा सञ्चय गरिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारको नेतृत्वमा खटिएको टोलीले खानतलासी गर्दा प्लास्टिकका ४८ वटा बोरामा राखिएको जम्मा ८ सय ४ किलोग्राम लागूऔषध गाँजा फेला पारेको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छथर जोरपाटी गाउँपालिका वडा नं. ४ घर भई हाल चौबिसे गाउँपालिका वडा नं. ४ मा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरिप्रसाद ओझा र चौबिसे गाउँपालिका वडा नं. ४ निवासी ३४ वर्षीय आशिष विश्वकर्मालाई नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको गाँजा प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक रञ्जितकारले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।