पेरिस पारालम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाइ कांग्रेसले गर्यो सम्मान

धनकुटा एफ. एम.
२४ भदौ २०८१, आइतबार

नेपाली कांग्रेसले पेरिस पारालम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ ।
आइतबार कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले कास्य पदक विजेता गोवर्धनसहित टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्नुभएको हो ।

कांग्रेसले ऐतिहासिक पदक विजेता पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको छ भने प्रशिक्षक कविराज नेगि लामालाई १ लाख ५० हजार प्रदान गरिएको छ । यसैगरी, प्रतियोगितामा सहभागी भएका अर्का खेलाडी भरत सिंह महताले नगद ५० हजार प्रदान गरिएको थियो ।

त्यस्तै टिम म्यानेजर रामप्रसाद श्रेष्ठ र तेक्वान्दो संघलाई कदरपत्र प्रदान गरिएको छ । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पलेशाको पदकले सबै नेपाली खुसी भएको बताउँदै उज्जवल भविष्यको कामना गर्नुभयो ।

पारालम्पिकमा प्राप्त भएको कास्य पदकले पनि अन्तर्राष्ट्रिय जगतमा इज्जत बढेको बताउँदै सभापति देउवाले भोलिका दिनमा नेपाली खेलाडीलाई राम्रो गर्ने हौसला प्रदान भएको पनि धारणा राख्नुभयो ।

यस्तै खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई स्वदेशमा टिकाउन र आत्मनिर्भर बनाउनका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाले खेल क्षेत्रमा रहेका व्यक्तिहरुको परिवार समेत मध्यनजर गरि उनीहरुको रोजगारको उपयुक्त व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

पलेशाले पारा पारालिम्पिकमा के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामो सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जित्नुभएको थियो । पारालिम्पिकमा पदक जित्ने पलेशा पहिलो नेपाली खेलाडी समेत बन्नुभएको छ ।