दुईतिहाईको बलमा नयाँ दललाई मानमर्दन गर्न खोजे चूप लागेर नवस्ने रविको चेतावनी

धनकुटा एफ. एम.
२ असोज २०८१, मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले दुईतिहाईको बलमा नयाँ दललाई मानमर्दन गर्न खोजे चूप लागेर नवस्ने चेतावनी दिनुभएको छ । .मंगलबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानले दुई दल मिलेर बनाइएको सरकारले जनताको पक्षमा काम गरेर नयाँ दलको आवश्यकता र औचित्यलाई गलत सावित गर्न सुझाव दिदै दुईतिहाईको बलमा नयाँ दललाई मानमर्दन गर्न खोजे चूप लागेर नवस्ने चेतावनी दिनुभएको हो ।

सिंहदरबारको सेटिङ बुझेर भत्काउन सरकारमा गएको भन्दै उहाले सरकारमा रहँदा चार महिनामा समाएका भुरा माछा गनेर नबस्ने र ढिलो–चाँडो सवैलाई रास्वपाले ठेगान लगाउने बताउनुभयो । लामिछानले रास्वपाको हस्तक्षेप कसैलाई आक्षेप लगाउन नभई नागरिकको अवस्था परिवर्तनका लागि भएको धारणा राख्नुभयो ।

उहाले रास्वपालाई बिभिन्न कोणबाट लडाउने प्रयत्न भइरहेको भन्दै चूनावबाहेक अरु कहिबाट रास्वपालाई लडाउन र हराउन नसक्ने जिकिर गर्नुभयो ।सभापति लामिछानले चाहेअनुसार संसदीय समितिले प्रतिवेदन नदिएका कारण समितिले दिएको निश्कर्षमा कतिपयलाई चित्त नबुझेको बताउनुभयो । सहकारीको पैसा ल्याउन आफ्नो भूमिका नरहेको बिषयलाई कतिपयलाई स्वीकार्य गाह्रो भएको उहाले बताउनुभयो ।

दुई दिनसम्म चल्ने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी छन् । पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेश गरिने रास्वपाले जनाएको छ । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला बुधबार सकिने बताइएको छ ।