चियासँग कविताको २८ औं श्रृंखलामा छिमेकी जिल्लाका साहित्यकर्मीको जमघटले गुन्जियो धनकुटा

चियासँग कवितासँगै धनकुटामा साहित्यीक गतिविधि निक्कै चलायमान हुँदै

धनकुटा FM
६ भदौ २०८२, शुक्रवार

धनकुटा । धनकुटामा नियमित रुपमा भइरहेको एउटा मात्रै साहित्यीक कार्यक्रम हो चियासँग कविता । चियासँग कविताको २८ औं श्रृंखला धनकुटामा सम्पन्न भएको छ ।

अहिले धनकुटामा साहित्यीक गतिविधि निक्कै चलायमान हुन थालेको छ । पछिल्लो समयमा चियाँसँग कविता कार्यक्रमको चर्चा र परिचर्चा पनि उत्तिकै भइरहेको छ । साथै नयाँ र पुराना सर्जकहरुको आकर्षण पनि उत्तिकै बढ्दै गइरहेको छ । सँगसँगै विद्यार्थी र अन्य क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागीता बढ्दै गएको छ ।

चियासँग कविताको २८औं श्रृंखलासम्म आइपुग्दा हजुर बा पुस्तादेखि नाति पुस्ताले एकै ठाउँमा आफ्ना सिर्जनाहरु वाचन गरिरहेका छन्, एकापसमा साहित्यीक विकासका लागि गन्थनमन्थन गरिरहेका छन् भने छिमेकी जिल्लाबाट समेत सर्जकहरुको उपस्थिती बाक्लिँदै गएको छ ।

धनकुटाकै पहिलो सामुदायीक रेडियो धनकुटा एफएमको संयोजनमा २०८१ फागुन २ गतेदेखि नियमित रुपमा चियासँग कविता साहित्यकर्मीहरु भेला हुन्छन्, साहित्यीक सिर्जनाहरु वाचन गर्छन् र साहित्यीक गन्थनमन्थन पनि गर्छन् । सर्जकहरुले आफ्नो सिर्जनामार्फत समाज परिवर्तनसँगै पछिल्लो राजनीतिक घटना क्रमका बारेमा समेत टिप्पणी गरेका छन् । चियासँग कवितामा पुराना र अग्रज मात्रै होइन, भर्खरै साहित्यमा पाइला राख्न खोज्नेहरु पनि अटाउने गरेका छन् ।

आज भएको २८ औं श्रृंखलामा सर्जकहरु रेखा क्षेत्री, मुकुन्द प्रयास, केजी सुब्बा, सन्जय सयल, भुषण श्रेष्ठ, रमेशचन्द्र अधिकारी, भीम राई, गोपाल बराइली, डिआर फुँयाल, सन्तोष सुवेदी, तारा काफ्ले, राधिका दाहाल, खड्गराज बसेल सहित धनकुटाको छिमेकी जिल्ला तेह्रथुमका कविहरु दिनेश थापा बेगारी, मनु कट्टेल लगायतले आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

सर्जक राजन श्रेष्ठको सभापतित्वमा भएको २८ औं श्रृंखलामा तेह्रथुमको छथर साहित्य समाजका अध्यक्ष दिनेश थापा, नेपाल पत्रकार महासंघ तेह्रथुमका उपाध्यक्ष विनोद भट्टराई, नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ, साहित्यकार केजी सुब्बा, अग्रज पत्रकारहरु, सन्जय सन्तोषी राई, तिलकप्रसाद राई, शिक्षाविद राजकुमारी चेम्जोङ लगायतले लामो समयसम्म सुस्ताएको धनकुटाको साहित्यलाई थप विकासका लागि चियासँग कवितामार्फत जुरमुराउन थालेको बताउनु भयो ।

गत फागुन २ गतेदेखि धनकुटामा शुरु भएको चियासँग कविता धनकुटासहितका साहित्यकर्मीहरुको साझा चौतारी बनेको रेडियो धनकुटा एफएमका अध्यक्ष तथा चियासँग कविताका प्रस्तोता गोपाल बराइलीले बताउनु भयो । कार्यक्रम चियासँग कविता भए पनि गीत, गजल, मुक्तक, कविता सबै विधाका सिर्जनाहरु प्रस्तुत हुने गरेका छन् ।