कवि मुकुन्द प्रयासका कविता : कुर्सीमा बस्नु अघि

मुकुन्द प्रयास
२८ भदौ २०८२, शनिबार

कुर्सीमा बस्नु अघि
~~~••~~~••~~~
त्यो कुर्सीमा बस्दै गर्दा सम्झिनु !
एउटा आँधीको झोँक्काले ठेलेर आईपुगेको हुँ
एउटा आक्रान्त/आक्रोसित युवाले जा भनेर पठाएको हो
सँगसँगै उसका साथी र उसका बाउ आमाले पठाएका हुन्
र यो समयको तमाम बेथितीको विरुद्ध नारा लगाउँदा लगाउँदै
टाउकोमा नै गोली लागेर उँधोमुन्टो परेको विद्यार्थीको शरिर
र शरीरबाट सप्पै रगत बगेर सिंगो देश चिप्लो भएपछि
रगततकै चिप्लोमा चिप्लिंदै चिप्लिंदै
यो कुर्सीसम्म आईपुगेको हुँ भनेर सम्झिनु !

त्यही रगत देखेर/सम्झेर अझै वेहोस भैरहेका
आमा बाबुहरूको अनुहार सम्झिनु !
बनि नसक्किँदै भत्किने बाटै बाटो हिँडेर आएको दृश्य
दृश्यभित्रको कालो छाँया सम्झिनु
खानै नपाउने र खाएरै नसक्किने बिचको
गहिरो खाडल सम्झिनु
रूनलाई पनि शक्ति नभएकाहरू र
रोएकोजस्तो गर्नेहरूबिचको अग्लो पर्खाल
उपचार गर्न पनि झण्डाको सिफारिस लिँदै गरेको बिमारी
जागिर खान प्रमाणपत्र भन्दा
झण्डा योग्य भएको अँध्यारो समय सम्झिनु !

देशको झण्डाभन्दा माथी पार्टीका झण्डाहरू गाडेको सम्झिनु
त्यही झण्डा मुनीका केही थान सेल्फी तस्बिरहरू सम्झिनु
र भर्खरै देखिएका डढ्न बाँकी नोटहरूको थाक सम्झिनु !
सिन्डिकेट सम्झिनु
घमण्ड सम्झिनु
ढिपी सम्झिनु
हुँकार सम्झिनु
अराजकता सम्झिनु
नहुनु पर्ने भएको सम्झिनु
हुनुपर्ने नभएको सम्झिनु !
र सम्झिनु
तिमीले लगाएको जुत्ताले तिमी बस्ने कुर्सीसम्म आईपुग्दा
रगतकै छाप लगाउँदै लगाउँदै बनाएको देशको नक्शा सम्झिनु,
सम्झिनु ! आजसम्म नदेखिएको
त्यो कुर्सीमा बसेपछि मात्र देखिने नयाँ दृश्य सम्झिनु !