धनकुटामा साहित्यीक गतिविधि निक्कै चलायमान हुन थाल्यो, चियासँग कविताको २२ औं श्रृंखला सम्पन्न
धनकुटा । धनकुटामा नियमित रुपमा भइरहेको एउटा मात्रै साहित्यीक कार्यक्रम हो चियासँग कविता । चियासँग कविताको २२ औं श्रृंखला धनकुटामा सम्पन्न भएको छ ।
अहिले धनकुटामा साहित्यीक गतिविधि निक्कै चलायमान हुन थालेको छ । पछिल्लो समयमा चियाँसँग कविता कार्यक्रमको चर्चा र परिचर्चा पनि उत्तिकै भइरहेको छ । साथै नयाँ र पुराना सर्जकहरुको आकर्षण पनि उत्तिकै बढ्दै गइरहेको छ । सँगसँगै विद्यार्थी र अन्य क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागीता बढ्दै गएको छ ।
चियासँग कविताको २२औं श्रृंखलासम्म आइपुग्दा हजुर बा पुस्तादेखि नाति पुस्ताले एकै ठाउँमा आफ्ना सिर्जनाहरु वाचन गरिरहेका छन्, एकापसमा साहित्यीक विकासका लागि गन्थनमन्थन गरिहेका छन् ।
धनकुटाकै पहिलो सामुदायीक रेडियो धनकुटा एफएमको संयोजनमा २०८१ फागुन २ गतेदेखि नियमित रुपमा चियासँग कविता साहित्यकर्मीहरु भेला हुन्छन्, साहित्यीक सिर्जनाहरु वाचन गर्छन् र साहित्यीक गन्थनमन्थन पनि गर्छन् । सर्जकहरुले आफ्नो सिर्जनामार्फत समाज परिवर्तनसँगै पछिल्लो राजनीतिक घटना क्रमका बारेमा समेत टिप्पणी गरेका छन् ।
प्रत्येक श्रृंखलामा धनकुटा आसपासबाट भेला हुने सर्जकहरुले कहिले कवितामार्फत माया प्रेम साटासाट गर्छन्, त कहिले घरायसी कुरा पनि खोतल्छन् । यसले हललाई निक्कै मनोरञ्जन र चेतना पनि दिन्छ ।
चियासँग कवितामा पुराना र अग्रज मात्रै होइन, भर्खरै साहित्यमा पाइला राख्न खोज्नेहरु पनि अटाउने गरेका छन् । खासगरी साहित्य क्षेत्रमा पुस्तान्तरणको बहस चलिरहेका बेला चियासँग कवितामा ६७ वर्षीय घनश्याम बरालदेखि १० वर्षीय सर्जक रिजन लिम्बु जस्ता नयाँ सर्जकहरुको साझा थलो बनेको छ ।
आज भएको २२ औं श्रृंखलामा सर्जकहरु रेखा क्षेत्री, रमेशचन्द्र अधिकारी, घनश्याम बराल औलाली, ध्रुव पौडेल एलेक्स, भीम राई, बुद्धिकान्त घिमिरे, गोपाल बराइली, जयादेवी पोख्रेल, खमबहादुर विश्वकर्मा, दृष्टि श्रेष्ठ लगायतले आफ्ना सिर्जना पस्किुन भएको थियो । राजेश्वरबहादुर श्रेष्ठ र राजन श्रेष्ठले व्यंग्य प्रस्तुत गर्दा रिजन लिम्बु र नुयाङ राईले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
गत फागुन २ गतेदेखि धनकुटामा शुरु भएको चियासँग कविता धनकुटाका साहित्यकर्मीहरुको साभाm चौतारी बनेको छ । कार्यक्रम चियासँग कविता भए पनि गीत, गजल, मुक्तक, कविता सबै विधाका सिर्जनाहरु प्रस्तुत हुने गरेका छन् ।
सर्जक भीम राईको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ, अग्रज पत्रकारहरु, सन्जय सन्तोषी राई, तिलकप्रसाद राई, शिक्षाविद राजकुमारी चेम्जोङ, युवा नेता सन्दिप चेम्जोङ लगायतले लामो समयसम्म सुस्ताएको धनकुटाको साहित्यलाई थप विकासका लागि चियासँग कवितामार्फत जुरमुराउन थालेको बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस