ओलीलाई बालेनले भने १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्काउनू

धनकुटा एफ. एम.
२२ जेठ २०८१, सोमबार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले झापाको गिरीबन्धु जग्गामा भएको नीतिगत घोटालामा नेकपा एमालेका अध्यक्ष केपी ओलीको हात रहेको आरोप लगाएका छन्।सामाजिक सञ्जालमार्फत् उनले १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन ओलीले अन्य विभिन्न काण्ड गरेर जनतालाई झुक्याउने प्रयास गरिरहेको पनि बताएका छन्।

‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू,’ साेमबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘झापा गिरी बन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’

उनले १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन र जनतालाई भुलाउन ओलीले राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूहरुले बनाउन लागेको फूटपाथलाई फेरि सडक बनाउन लगाएको पनि आरोप लगाएका छन्।
‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन विषयान्तर गरे पनि काम हुनु राम्रो हो,’ व्यंग्यात्मक शैलीमा उनले लेखेका छन्, ‘तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवनमा बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौँ।’

गृहमन्त्री रवि लामिछाने झापाको गिरीबन्धु जग्गा प्रकणमा मौन बसेकोप्रति पनि बालेनले व्यंग्य गरेका छन्।

उनले समयमै गिरिबन्धुमा पीडित भएकाहरुको बैना फिर्ता गर्न पनि ओलीलाई आग्रह गरेका छन्। ‘नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला,’ उनले ओलीलाई लक्षित गर्दै भनेका छन्, ‘हुन त, पहिले पनि जेल बस्नु भएको हो!’