राजेन्द्र लिङदेनले रोस्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

धनकुटा एफ. एम.
६ असार २०८१, मंगलबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको रोस्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यातेका हुन्।

उनले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताएका थिए। पुस्तिका च्यातेर हुर्‍याउने मन भएपनि संसदीय मर्यादा विपरित हुने भएकाले आफुले नहुर्‍याउने उनको भनाइ थियो।

‘सामान्यतया म आफूले आफैँलाई हेर्दाखेरी कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो। रिस पनि उठ्छ। कहिलेकाहीँ रिस पनि पोखिन्छ। तर एकछिन पछि सेलाउने, मन बुझाउने खालको मान्छेको रुपमा मैले आफूलाई ठान्छु,’ लिङ्देनले भने, ‘तर जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुस्तिका हातमा पर्‍यो। त्यो दिनदेखि म यसरी तातिएको छु कि, यो यसरी च्यातेर(पुस्तक च्यात्दै), यसरी हुर्‍याउने मन छ। (हुर्‍याउन खोज्दै)। तर यो संसदीय मर्यादा विपरित हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने त्यहाँ नहुर्‍याएर यहाँ राख्छु मैले।’

अध्यक्ष लिङदेनले चारवटा निर्वाचन क्षेत्र बाहेकका प्रतिनिधि सभा सदस्यहरू बजेटप्रति असन्तुष्ट रहेको पनि बताए।