आगामी ३ दिन रातिको समयमा भारी वर्षा हुने

धनकुटा एफ. एम.
१४ साउन २०८१, आइतबार

जल तथा मौसम विज्ञान विभागले आज, भोलि र पर्सि रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । मनसुन सक्रिय हुँदै गएकोले आगामी तीन दिन रातिको समयमा भारी वर्षा मात्र नभई केही स्थानमा अति भारी बर्षा समेत हुने मौसम विभागको भनाई छ । मौसमविद् अधिकारीले रातिको समयमा धेरै पानी पर्नु मनसुनको विशेषता रहेको भन्दै आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि अलि सक्रिय हुने जानकारी दिए । मौसमविद् अधिकारीले भने ‘अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावामा भएको पानीको मात्रा तापक्रम बढी हुँदा होल्ड हुने क्षमता बढी हुन्छ, राति तापक्रम घटेसँगै होल्डिङ क्षमता घट्छ र वर्षा हुन्छ ।’

मौसम विभागका अनुसार आज पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज रातीː पनि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।यस्तै भोलि सोमबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहL मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसदिन राती पनि सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।यस्तै मंगलवार मधेश प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।