धनकुटामा चियासँग कविताको २१ औं श्रृंखला सम्पन्न, साहित्यीक विकासका लागि गन्थनमन्थन जारी

धनकुटा FM
२० असार २०८२, शुक्रवार

धनकुटा । पछिल्लो समयमा धनकुटामा साहित्यीक गतिविधि निक्कै चलायमान बन्दै गएको छ । धनकुटामा रहेका साहित्यकर्मीहरु धनकुटामा साहित्यको थप विकासका लागि जुरमुराउन पनि थालेका छन् । साथै उनीहरुले धनकुटाको साहित्यीक विकासका लागि एक हुनुपर्ने शन्देश पनि दिइरहेका छन् ।

गत फागुन २ गतेदेखि धनकुटामा शुरु भएको चियासँग कविताले युवा र विद्यार्थीको मन छुन थालेको छ । पछिल्लो समयमा चियाँसँग कविता कार्यक्रमको चर्चा र परिचर्चा पनि उत्तिकै भइरहेको छ । साथै नयाँ र पुराना सर्जकहरुको आकर्षण पनि उत्तिकै बढ्दै गइरहेको छ । सँगसँगै विद्यार्थी र अन्य क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागीता बढ्दै गएको छ ।

चियासँग कविता कार्यक्रमको २१ औं श्रृंखलासम्म आइपुग्दा झण्डै २ सय वटाभन्दा बढी सिर्जनाहरु वाचन गरिएका छन् । खासगरी चियासँग कविताले धनकुटामा चार पुस्ताको जम्काभेट गराइरहेको छ । चियासँग कविताको २१औं श्रृंखलासम्म आइपुग्दा हजुर बा पुस्तादेखि नाति पुस्ताले एकै ठाउँमा आफ्ना सिर्जनाहरु वाचन गरिरहेका छन्, एकापसमा साहित्यीक विकासका लागि गन्थनमन्थन गरिहेका छन् ।

सोही क्रममा धनकुटाकै पहिलो सामुदायीक रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविताको २१ औं श्रृंखला धनकुटामा सम्पन्न भएको छ । सो २१ औं श्रृंखलामा डेढ दर्जन नयाँ र पुराना सर्जकहरुले आ–आफ्ना श्रृंजनाहरु सुनाएका छन् । सर्जकहरुले आफ्नो सिर्जनामार्फत समाज परिवर्तनसँगै पछिल्लो राजनीतिक घटना क्रमका बारेमा समेत टिप्पणी गरेका छन् । साथै सर्जकहरुले माया प्रेमका सिर्जना सुनाएका थिए ।

नेपाल पत्रकार महासंघको हलमा भएको चियासँग कविता कार्यक्रमको २१ औं श्रृंखलामा सर्जकहरु भीम राई, घनश्याम बराल औलाली, इश्वर श्रेष्ठ अकेला, रेखा क्षेत्री, दृष्टी श्रेष्ठ, केदारकाजी भट्टराई, सरस्वती श्रेष्ठ, शन्देश सुब्बा, तिलकप्रसाद राई लगायतले आफ्ना सिर्जना प्रस्तुत गर्दा १० वर्षीय रिजन लिम्बुले आफ्ना सिर्जनाहरु पस्किनुभयो । त्यसैगरी सो कार्यक्रममा रमेशचन्द्र अधिकारी, ललित विश्वकर्मा र चन्द्रकला धमलाले गीत प्रस्तुत गर्नुभएको थियो ।

फागुन २ गतेदेखि धनकुटामा निरन्तर साप्ताहिक रुपमा चियाँसँग कविता भइरहेको छ । चियासँग कविता कार्यक्रमलाई नयाँ र पुराना पुस्ताका सर्जकहरुलाई एकै ठाउँमा ल्याउने प्रयास स्वरुप चियासँग कविता शुरु गरिएको कार्यक्रम संयोजक गोपाल बराइलीले बताउनुभयो ।

सर्जन चिनु काफ्लेको सभापतित्वमा भएको चियासँग कविताको २१ औं श्रृंखलामा कानुन व्यवसायी आनन्द सन्तोषी राई, नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ, सर्जक खेम घिमिरे, नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अधयक्ष सन्जय सन्तोषी राई लगायतले शुभकामना दिनु भएको थियो ।।