सहिद भीम नारायण गोल्डकपको आय–व्यय अझैं सार्वजनिक भएन, पारदर्शितामाथि प्रश्न
धनकुटा । सहिद भीम नारायण स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न सहिद भीम नारायण गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएको करिब दुई महिना बितिसक्दा पनि आयोजकले प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गर्न सकेको छैन ।
१८ औँ संस्करणको शहीद भीमनारायण एक्स्ट्रिम एनर्जी ड्रिंक गोल्डकप फुटबल प्रतियोगिता जेठ १० गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो । तर खेल सकिएको २ महिना पूरा हुँदा पनि आय–व्याय विवरण सार्वजनिक नगरेपछि खेलप्रेमी तथा स्थानीय सरोकारवालाबीच चासो बढेको छ ।
प्रतिष्ठानले प्रतियोगिता आयोजना गर्न करिब ४५ लाख रुपैयाँ खर्च हुने जनाएको थियो । प्रतियोगिता सम्पन्न भइसकेपछि आम्दानी, प्रायोजन, सहयोग रकम तथा विभिन्न शीर्षकमा भएको खर्चको विवरण सार्वजनिक हुने अपेक्षा गरिए पनि हालसम्म कुनै आधिकारिक आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छैन ।
सार्वजनिक सहयोग, प्रायोजन तथा विभिन्न निकायको सहभागितामा सञ्चालन हुने यस्ता प्रतियोगितामा आय–व्यय विवरण समयमै सार्वजनिक गर्नु सुशासन, पारदर्शिता र जवाफदेहिताको महत्वपूर्ण आधार मानिन्छ । तर धनकुटा नगरपालिकाले १३ लाख रुपैयाँ खर्च गरेर मुख्य प्रायोजक रहेको भनिए एक्स्ट्रिम एनर्जी ड्रिंकले प्रायोजन गरेपछि सहिद भीम नारायण गोल्ड कपको नामै परिवर्तन गरेर शहीद भीमनारायण एक्स्ट्रिम एनर्जी ड्रिंक गोल्डकप फुटबल प्रतियोगिता बनाइएको थियो ।
तर लामो समयसम्म पनि विवरण सार्वजनिक नहुँदा आर्थिक पारदर्शितामाथि प्रश्न उठ्न थालेको स्थानीय खेलप्रेमीहरूको भनाइ छ । स्थानीय खेलकुदकर्मीहरूले आयोजक प्रतिष्ठानले प्रतियोगिताको सम्पूर्ण आर्थिक विवरण, आम्दानीका स्रोत, खर्चका शीर्षक तथा बाँकी मौज्दात भए त्यसको अवस्था सार्वजनिक गर्नुपर्ने बताएका छन् । यसो गर्न सके आगामी संस्करणप्रति जनविश्वास अझ मजबुत हुने उनीहरूको विश्वास छ ।
सहिद भीम नारायण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले एक हप्तामा खेल अवधीमा भएका सबै आय–व्यय विवरण सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
आर्थिक वर्षको चटारो र कुन ठाउँबाट कति पैसा आउँछ भन्ने यकिन हुन नसक्दा खर्च विवरण सार्वजनिक हुन ढिलाई भएको उहाँको भनाई छ । ‘अब जे जति आएको छ, त्यो सार्वजनिक गर्छाै’ उहाँले भन्नुभयो, ‘स्थानीय तहले दायीत्वमा राखिदिए । त्यसमा पनि कति कर कट्टी हुन्न भन्ने यकिन भएन । त्यसले गर्दा पनि समयमा खर्च सार्वजनिक गर्न सकेनौं । सार्वजनिक गर्ने बेला खबर गर्छौ ।’
१८ औं संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विजेता बेलबारी फुटबल क्लब मोरङले नगद ६ लाख रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता बनेको आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले नगद ३ लाख रुपैयाँ चित्त बुझाएको थियो ।
शहीद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा तल्लो टुँडिखेल खेलमैदानमा प्रतियोगिता सञ्चालन भइरहँदा धनकुटाका सञ्चारकर्मीहरुले आयोजकको व्यवहारका कारण खेल बहिष्कार गरेका थिए । आयोजकसँग रुष्ट बनेका सञ्चारकर्मीहरुले दर्शकदिर्घामै बसेर रिपोटिङ गरेका थिए ।
र यो पनि…
स्थानीयलाई उपेक्षा गर्दा विवादमा तानियो १८ औँ संस्करणको भीमनारायण गोल्ड कप


प्रतिक्रिया दिनुहोस