एक वर्ष प्रधानमन्त्री बनाउने ग्यारेन्टीको लिखित सहमति नभएर के गर्छ नेकपा एस ?

धनकुटा एफ. एम.
३० फागुन २०८०, मंगलबार

काठमाडौं,२९ फागुन । सत्ता गठबन्धनको एक सहयात्री नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई यही कार्यकालमा एक वर्ष प्रधानमन्त्री बनाउने लिखित प्रतिबद्दता गर्न दवाब दिएका छन् । सोमबारको नेकपा एसको संसदीय दलको बैठकमा सांसदहरुले अध्यक्ष नेपालले पार्टीमा सल्लाहा नै नगरी प्रचण्ड सरकारमा सहभागिता जनाएको भन्दै आलोचनसहित प्रचण्डले आफ्ना मागहरु लिखितरुपमा पुरा गर्नुपर्ने बताएका थिए ।

सोही विषयमा गठबन्धनमा दरार उत्पन्न हुने संकेत देखेर प्रधानमन्त्री दाहालले सत्ताधारी दलका नेताहरु एमाले अध्यक्ष केपी ओली र एसका अध्यक्ष माधव नेपालसँग बालुवाटारमा छलफल गरिरहेका छन् । बैठकमा आफ्ना विषयलाई दर्विलो राख्न माधव नेपाललाई दोस्रो तहका नेताहरुले दवाव दिएका छन् । यो विषयमा प्रधानमन्त्री लचक भएर नेकपा एसलाई यही कार्यकालमा कम्तीमा एक वर्ष प्रधानमन्त्री दिने कुराको लिखित ग्यारेन्टी खोजेको नेकपा एसका नेता मेटमणी चौधरीले बताए ।

नेकपा एकीकृत समाजवादीले पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत र राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी उम्मेदवारलाई मत दिने चेतावनी दिएपछि सत्ता साझेदार तीन दलका शीर्ष नेताबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एकीकृत समाजवादीको हिजो सोमबार बसेको संसदीय दलको बैठकले मागबारे सहमति गर्न मंगलबार ११ बजेसम्मको अल्टिमेटम दिएको थियो । आज ११ बजे राष्ट्रिय सभा अध्यक्षका लागि मतदान हुँदै छ ।

प्रधानमन्त्री प्रचण्डले गत २३ गते मन्त्रिमण्डल विस्तार गर्दा अन्तिम समयमा मात्रै एकीकृत समाजवादीका मन्त्री समेटिएका थिए । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेर्नु अघि आफूलाई थाहा नै नदिएको भनेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सन्तुष्ट हुन सकेका छैनन् ।

साथै उनले अघिल्लो गठबन्धनमा एक वर्ष प्रधानमन्त्री पाउने सहमति समेत अलपत्र परेकाले यो गठबन्धनमा पनि सोही अनुसार प्रधानमन्त्री खोजेका छन् । तर एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबिच आगामी चार वर्ष आलोपालो दुई वर्षका दरले प्रधानमन्त्री हुने सहमति भएकाले अध्यक्ष नेपाल अप्ठेरोमा परेका छन् ।