राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

धनकुटा एफ. एम.
३० फागुन २०८०, मंगलबार

काठमाडौं,२९ फागुन । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा उनी निर्वाचित भएका हुन्। मतदानमा ५६ जना उपस्थित थिए। नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत परेको थियो। उनलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा भने १७ मत मात्रै परेको थियो।

सभाको सञ्चालन गरिरहेकी उपाध्यक्ष उर्मिला अर्यालले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेकी छिन । त्यसअघि अर्का उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान भएको थियो। निर्वाचन प्रक्रियामा सहभागी ५६ मध्ये उनलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ र विपक्षमा ३९ मत परेको थियो।

राष्ट्रिय सभामा हुनुपर्ने ५९ सदस्यमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुन बाँकी छ। राष्ट्रिय जनमोर्चाले दुवै उम्मेदवारलाई भोट नदिने (नो भोट) निर्णय गरेको राष्ट्रिय सभा सदस्य तुलबहादुर विश्वकर्माले छलफलका क्रममा बोलेका थिए। त्यस्तै अध्यक्षको जिम्मेवारी सम्हालेकी अर्यालले मतदानमा भाग लिएकी थिइनन्। अध्यक्षमा निर्वाचित भएका दाहाल २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए।

२०६३ मा गठित अन्तरिम व्यवस्थापिका संसदको सदस्य भएर संसदीय अभ्यास सुरु गरेका दाहाल २०६४ मा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा चितवन -३ बाट निर्वाचित भएका थिए। उनी २०७८ चैत २५ गते राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए।