वर्षभरी मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउन कर्मचारीलाई दिन रात नभनी काम गर्न मन्त्री यादवको निर्देशन

धनकुटा एफ. एम.
५ साउन २०८१, शुक्रवार

काठमाडौँ -खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको सम्बन्धमा जनतामा रहेको निराशालाई आशामा बदल्न मेलम्चीको पानी वितरणलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उप–आयोजना–२ को जानकारी ९ब्रिफिङ० लिने क्रममा मन्त्री यादवले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “हामीले काम मार्फत मेलम्ची खानेपानी आयोजना सम्बन्धी सृजित गलत भाष्यलाई चिर्नु पर्छ र जनतालाई मेलम्चीको पानी १२ महिना कसरी पु¥याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ । यसको लागि म प्रतिबद्ध छु, के गर्नु पर्छ म गर्छु ।”ब्रिफिङका क्रममा मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहर पानी व्यवस्थापन आयोजनाहरुको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमहरुको बारेमा जानकारी पनि लिनुभएको थियो । उहाँले मन्त्रालयको प्राविधिक र प्रशासनिक कार्य प्रवाहलाई बुझ्दै जनताको गुनासोलाई ध्यानमा राखेर मन्त्रालयका कर्मचारीहरुसँग मिलेर काम गरिरहेको बताउनुभयो ।
उहाँले स्थानीय सरकारसँगको समन्वयको आवश्यकता औँल्याउँदै काठमाडौँ महानगरपालिकाको सहयोगका लागि त्यहाँका प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा छलफल गरेको उल्लेख गर्नुभयो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विषयमा आएका गुनासोको जानकारी लिएर आफू गम्भीर रहेको बताउँदै उहाँले कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो ।
“म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो,” उहाँले भन्नुभयो, “मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौँका बासिन्दालाई खानेपानी पु¥याएर देखाउनु पर्छ ।”मन्त्री यादवले मेलम्ची आयोजनालाई सफल पार्दै काठमाडौँ उपत्यकाका बासिन्दालाई १२ महिना खानेपानी पु¥याउने लक्ष्य अनुसार सबै मिलेर काम गर्दा मात्र यो सम्भव हुने विश्वास समेत व्यक्त गर्नुभयो ।