ऐतिहासिक कांस्य जितेकी नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौंमा भव्य स्वागत

धनकुटा एफ. एम.
२० भदौ २०८१, बुधबार

पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य जितेकी नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।बुधबार बिहान स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ लगाएतले स्वागत गरेका थिए ।

पलेशालाई स्वागत गर्न बाजागाजा सहित हजारौँ समर्थकहरू विमानस्थल पुगेका थिए । त्यसपछि उनलाई नगर परिक्रमा गराएर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् पुराइएको थियो । राखेपमा खेलकुदमन्त्री चौधरी, राखेप सदस्यसचिव घिसिङ, तेक्वान्डो संघका पदाधिकारी लगाएतले सम्मान गरेका थिए ।

सो अवसरमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले आफुले जितेको मेडल राष्ट्रका लागि भएको गौरव महशुस गरेको बताइन् । सिमित स्रोत साधनकाबीच आफुले तयारी गरेको र खेलको दिन उच्च मनोवलका साथ खेलेको र सफलता प्राप्त गरेको उनले बताइन् ।पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काश्य पदक जितेकी थिइन् । उक्त पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो ।